शुन्य समय​

१५ औं गोदावरी पुष्प प्रदर्शनी २०७९ भाेलिदेखि ललितपुरको जावलाखेलमा हुँदै

निराज रानाभाट , ललितपुर : विगत १५ वर्षदेखि हुँदै आएको ‘ गोदावरी फूल ’ को प्रतियोगितात्मक प्रदर्शनी कार्तिक ०३ गते , बिहीबार ( भाेलि ) देखि कार्तिक ०६ गतेसम्म हुने भएको छ । ललितपुर जिल्लाको जावलाखेलस्थित खेल मैदानमा हुने प्रदर्शनीको तयारी पूरा भएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ ।

‘ रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि ’ भन्ने मुल नाराका साथ हुने प्रदर्शनीमा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरि जम्मा ५५ वटा प्रदर्शनी कक्षहरु रहने मेला संयोजक सिताराम पन्तले जन्कारी दिए । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १० मिनियचर , २० स्पाईडर , ३० रिफ्लेक्स , ४० ईन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाती छन् । मेलामा सहभागी भएका नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने जनाइएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको अयोजना र पुष्प विकास केन्द्रको सहयोगमा हुने उक्त मेला ३७ हजार भन्दा बढिले अवलोकन गर्नुका साथै ८० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । नेपाल फूलमा अहिलेको समयमा ९० देखि ९१ प्रतिशत आत्मनिर्भर भैसकेको , तर बीउको स्रोतको कमि र शुभ दिपावली ( तिहार ) ,भ्यालेन्टाइन्स डे जस्ता समयहरुमा अत्याधिक माग बढ्ने कारण ९ देखि १० प्रतिशत आयात भने अझै कायम रहेको फ्यानका अध्यक्ष मीन बहादुर तमाङ्ले जानकारी दिए । साथै अहिले पुष्प क्षेत्रको समग्र लगानी साढे ६ अर्ब रहेको समेत उनले जानकारि दिए ।

नेपालमा व्यावसायिक फूलखेती शुरु भएको २७ वर्ष पुगिसकेकोे छ भने फूल व्यवसाय अहिले सम्म आइपुग्दा लगभग सबै जिल्लामा विस्तार भैसकेकोे छ । तिहारका लागि २० लाख मालाको माग हुने कुरालाई मध्य नजर गर्दै पहिलेको साल भन्दा यस साल उत्पादन समेत १० देखि १५ प्रतिशत बढेको छ । यससंगै समग्र पुस्प व्यवसायमा गत वर्ष ११.९२ करोडको कारोवार भएको थियो , भने यस वर्ष १३.५० करोड को कारोवार गर्ने समेत अनुमान गरिएको छ ।

प्रदर्शनी भने बिहान ०९:०० बजेदेखि साँझ ०५:०० बजेसम्म हुने छ । प्रदर्शनीमा प्रवेश गर्न भने विद्यार्थीहरुको हकमा ५० रुपैयाँ र सर्वसाधारणको हकमा १०० रुपैयाँ शुल्क लाग्ने छ ।

प्रतिक्रिया