शुन्य समय​

नेपाल पत्रकार महासंघ सर्लाहीको ११ औं साधारणसभा सम्पन्न

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११औं साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
महासंघ अध्यक्ष टंक बहादुर क्षेत्रीको अध्यक्षता तथा महासंघकी केन्द्रीय सदस्य रिंकु कुमारी मिश्रको प्रमुख आतिथ्यतामा लालबन्दी नगरपालिका १३ स्थित पत्थरकोटमा रहेको होलिडे फेमिली रिसोर्टमा सम्पन्न भएको हो ।
मंसीर १७ गतेकै लागि तय भएको साधारणसभा सो दिन साधारणसभामा विशिष्ट अतिथिको रुपमा सहभागि हुन आउनुभएका मिडिया काउन्सिलका मधेश प्रदेश अध्यक्ष शिवहरि भट्टराईको असामयिक निधन भएपछि शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो ।
स्वर्गिय भट्टराईको तस्वीरमा माल्यापर्णसहित मंगलवार सम्पन्न भएको साधारणसभामा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, प्रदेशसभा सदस्य बेची लुंगेली, लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, लालबन्दी १३ का वडाअध्यक्ष शिवकृष्ण वैद्य, महासंघ सर्लाही शाखाका संस्थापक अध्यक्ष चुडामणि वाग्ले, पूर्व अध्यक्ष रोशन न्यौपाने, शंकर श्रेष्ठ, पूर्व अध्यक्ष तथा हालका प्रदेश कमिटी कोषाध्यक्ष विश्वनाथ ठाकुर, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु र महासंघ सर्लाही शाखामा आवद्ध पत्रकारहरुको सहभगिता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै वक्ताहरुले जिल्लामा पत्रकारहरुले खेलेको भूमिका सकारात्मक रहेको बताउनुभएको थियो । महासंघको साधारण सभाको पूर्ण सफलताको शुभकामना दिनुहुँदै उहाँहरुले पत्रकारहरुलाई गुणस्तर र व्यवसायिकतामा जोड दिन सुझाव दिनुभयो ।
सो अवसरमा लालबन्दी नगरपालिका १३ वडा कार्यालयको तर्फबाट साधारणसभामा उपस्थित अतिथि तथा सहभागिहरुलाई खादा लगाई स्वागत तथा सम्मान गरिएको थियो । साधारणसभाकै अवसरमा स्व.गजेन्द्रनारायण सिंह पत्रकारिता पुस्कारबाट जिल्लाका क्रियाशिल पत्रकार जनार्जन खत्रीलाई सम्मान गरिएको थियो । पुरस्कारको राशि १५ हजार ५ सय ५५ रहेको थियो ।

प्रतिक्रिया