शुन्य समय​

संकटा निराश हुँदै फर्कियो

बागमती – जावलाखेल यूथ क्लब संकटा फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार बागमतीस्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा संकटामाथि १–० गोलको संघर्षपूर्ण जित निकाल्दै ललितपुरे क्लब जावालाखेल उपाधि नजिक पुगेको हो । मध्यान्तरसम्म गोलरहित बराबरीमा टुंगिएको खेलमा जावलाखेलका सुनिल खड्काले ५० औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

हिसुब थपलियाले दिएको पासलाई सदुपयोग गर्दै खड्काले खेलको निर्णायक गोल गरेका हुन् । खेलमा दुवै टिमबाट भएको पटक–पटकको प्रहार विफल हुन पुग्यो ।

जावलाखेलसँग पराजित भएसँगै राष्ट्रिय फुटबल टिमका सुनिल बल, मनिष डाँगी, सुरज ज्यू ठकुरी, आयुष घलानजस्ता खेलाडी आवद्ध सङ्कटा प्रतियोगिताबाट निराश हुँदै बाहिरिनुपरेको छ । भर्खरै आहारारा गोल्डकपको च्याम्पियन सङ्कटा राजर्षि जनक कपमा भने सेमिफाइनलबाटै घर फर्किनुपरेको हो ।

बिहीबारको खेलमा जावलाखेलका हिसुब थपलिया म्यान अफ दी म्याच बन्दै १० हजार नगद प्राप्त गरेका छन् । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा शुक्रबार ए डिभिजनको साबिक बिजेता मच्छिन्द्र फुटबल क्लब र मोफसलको चर्चित सुदूरपश्चिम–११, धनगढीले खेल्ने छन् ।

शुक्रबारकोे बिजेताले प्रतियोगिताको उपाधिका लागि आगामी आइतबार जावलाखेल यूथ क्लबसँग प्रतिस्पर्धा गर्ने छ । बागमती युवा क्लब र बागमती नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको यो प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले ५ लाख रुपियाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया