शुन्य समय​

ट्याक्टरमा राखेर भारत लैजान लागिएको २५० किलो गाँजा बरामद

सर्लाही प्रहरीले ट्याक्टरमा राखेर भारततर्फ निकासी गर्न लाग्दा ठूलो परिमाणको लागूऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । सुराकीको आधारमा खटिएको विशेष प्रहरी टोलीले शनिबार राति कविलासी नगरपालिका–९, सलेमपुर भलुवाहीबाट २५० किलो गाँजा, त्यसको ओसारपसारमा प्रयोग गरिएको ट्याक्टर र दुई युवकलाई पक्राउ गरेको हो । भलुवाहीस्थित झिम नदीको किनार हुँदै ज १ त ५५५१ नम्वरको ट्याक्टरमा राखेर दक्षिणतर्फ लैजाँदै गरिएको गाँजा बरामद भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।

गाँजा ओसारपसारमा संलग्न ट्याक्टरका चालक कविलासी नगरपालिका–१०, का २८ वर्षीय भाग्यनारायण महतो र ट्याक्टरमा सवार सोही ठाउँकै २४ वर्षीय रवि भन्ने रविन्द्र रायलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डीएसपी थारुले बताए । इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) ठाकुर सापकोटाको नेतृत्वमा खटिएको प्रहरीले बरामद गरेको गाँजा र पक्राउ परेका व्यक्तिलाई आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार १९ वटा पोकामा रहेको उक्त गाँजा ३० लाख रुपियाँ बराबरको रहेको अनुमान गरिएको छ । उक्त गाँजा सर्लाहीकै चुरेभेग तथा छिमेकी जिल्ला सिन्धुली वा मकवानपुरतर्फबाट ल्याएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । पत्रकार सम्मेलनमा सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले गाँजा ओसार्न प्रयोग गरिएका व्यक्ति पक्राउ गरिएको र यसको मालिक को हुन ? भन्ने विषयमा अनुसन्धान गरिने बताए ।

प्रतिक्रिया