शुन्य समय​

चितवन : भरतपुरको पुल्चोक – गोन्द्राङ सडक विस्तारको ४५ प्रतिशत काम सकियो

निराज रानाभाट , चितवन : चितवन जिल्लाको भरतपुरस्थित पुल्चोक – गोन्द्राङ खण्डको सडक विस्तारको काम ४५ प्रतिशत सम्पन्न भएको छ । सडक विस्तारका लागि वि.सं. २०७७ असोज २६ गते , इण्डो – सगुन – रौताहा जेभी बुटवलसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी फागुन १० गतेसम्म कम्पनीले सडक विस्तारको काम सम्पन्न गरिसक्नु पर्ने छ ।

रु.१ अर्ब १३ करोडको लागतमा विस्तार हुने पुल्चोक – गोन्द्राङ सडक छ लेनको हुने छ । सडकको दायाँबायाँ ११.५ – ११.५ मिटर कालोपत्र हुने छ , भने सडकको बीचमा ३ देखि ४ मिटरको मेडियन , मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन रहने छ ।

साथै , ३ देखि ४ मिटरको फुटपाथ हुने छ , भने सडकको बीचको मेडियन र सर्भिस लेनको डिजाइन ३ खण्डमा फरक – फरक हुने छ । पुल्चोकदेखि लायन्सचोकसम्म , लायन्सचोकदेखि क्याम्पस गेट र क्याम्पस गेटदेखि गोन्द्राङसम्म फरक – फरक डिजाइन रहने सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार गोन्द्राङदेखि चौबीसकोठीसम्म एक्सप्रेस वे ( बीचको द्रुतमार्ग ) को काम भइरहेको छ । एक्सप्रेस वेमा बेस र सवबेसको काम भइरहेको छ । उक्त काम सकिएपछि पहिलो तहको काम शुरु हुने डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जीनियर चण्डेश्वर शाहले जानकारी दिए ।

उनका अनुसार गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलसम्म भने पहिलो तहको काम हाल सम्पन्न भइसकेको छ । उक्त खण्डमा दोस्रो र तेस्रो तह एवम् ढलको काम हुन बाँकी छ । केही दिनमै बसपार्कदेखि चौबीसकोठीसम्म पहिलो तहको काम पनि शुरु हुने छ । छेउको बाटो सर्भिस लेनमा भने गोन्द्राङदेखि चौबिसकोठीसम्म पहिलो तहको काम सम्पन्न भइसकेको छ ।

एक्सप्रेस वेमा उच्चस्तरको बेस ( डिभिएम ) को पहिलो तहको काम सकिएपछि सर्भिस लेनमा दोस्रो र तेस्रो तहको काम शुरु हुने उनले जानकारी दिए । त्यसपछि एक्सप्रेस वेमा पनि दोस्रो र तेस्रो तहको काम हुने छ ।

तिहारपछि चौबीसकोठीदेखि पुल्चोकसम्मको काम पनि शुरु गरिने शाहले बताए । उक्त खण्डमा बिजुली पोल , खानेपानीको पाइपको काम तथा केही संरचना भत्काउन पर्ने छ । हाल खानेपानीको पाइप हटाउनका लागि खानेपानी कार्यालयले बोल – पत्र आह्वान गरिसकेको छ , भने बिजुलीको पोल हटाउनका लागि विद्युत् कार्यालयसँग पनि समन्वय भइरहेको इञ्जीनियर शाहले जानकारी दिए । उनका अनुसार स्थानीय तहको निर्वाचन तथा विभिन्न चाडपर्वका कारण कामले तीव्रता लिन सकेको थिएन । त्यसमाथि मंसिर ०४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले पनि काम प्रभावित हुन सक्ने उनको भनाइ छ ।

सम्झौता मिति सकिन ४ महिनामात्रै बाँकी रहे पनि निर्माण कम्पनीले भने तोकिएकै मितिमा काम सम्पन्न गर्ने दाबीसमेत गरेको छ ।

प्रतिक्रिया