शुन्य समय​

सर्लाहीमा माओवादीका ‘बागी’ पार्टीबाट निष्काशित

सर्लाहीमा नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिने र उनीहरुका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्काशन गरिएको छ ।

पार्टीको मधेश प्रदेश कमिटीका इन्चार्ज गणेश साहले सर्लाहीमा पार्टीका ११ जना नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेका हुन् । कारवाहीमा पर्नेमा ५ जना बागी उम्मेदवार र बाँकी ६ जना उनीहरुको प्रस्तावक तथा समर्थक छन् ।

५ दलिय गठवन्धनको विरुद्धमा उम्मेद्वारी दिएका सर्लाही क्षेत्र नं. १ (ख) बाट राजनकुमार श्रेष्ठ र क्षेत्र नं. ३ (क) बाट जवाहारलाल कुशवाहालाई पार्टीले कारवाही गरेको छ । श्रेष्ठले बागी दिएको क्षेत्र नं. १ (ख) मा गठवन्धनबाट नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र कुशवाहाले बागी दिएको क्षेत्र नं. ३ (क) बाट समाजवादीकै डिल्लीप्रसाद उप्रेतीको उम्मेदवारी परेको छ ।

त्यस्तै, सर्लाही क्षेत्र नं. ४ (ख) बाट बागी उम्मेदवारी दिने तीन जना नेता महेन्द्र राय, श्रीचन राय र अनिता देवीलाई पनि कारवाही गरी पार्टीबाट निष्काशित गरिएको छ । ४ को (ख) मा सत्तागठन्धनबाट माओवादी केन्द्रकै फकिरा महतोले उम्मेदवारी दिएका छन् ।

माओवादीले बागी उम्मेदवारको प्रस्तावक तथा समर्थक बस्ने भूपेन्द्रमान श्रेष्ठ, रामबाबु राय, जितलाल राय, कपल सहनी, रामबचन राय र उपेन्द्र यादवलाई पनि पार्टीबाट निष्काशन गरेको छ । औपचारिकताका लागि पार्टीले कारवाहीको पत्र सार्वजनिक गरेपनि पाँचै जना बागी उम्मेदवारले अहिले घरदैलोलाई तीव्र पारिरहेका छन् ।

प्रतिक्रिया