सर्लाहीमा केही दिनदेखि सवारी दुर्घटना अत्यधिक बढेको छ ।जिल्लामा १७ दिनको अवधिमा सवारी दुर्घटनामा परेर नौ जनाको मृत्यु भएको छ । सम्पूर्ण दुर्घटना कालोपत्रे सडक (पिच रोडमा भएका हुन् ।
जेठ ५ गतेदेखि हिजोसम्म रानिगन्जमा बसको ठक्करबाट एक जना, जिरायतमा दुईवटा मोटरसाइकल जुध्दा दुई जना, मलंगवामा कारको ठक्करबाट एक जना, बसबरियामा ट्याक्टरको ठक्करबाट एक जना, बरहथवामा मोटरसाइकल दुर्घटनामा एक जना, फूलजोरमा टिप्पर दुर्घटनामा एक जना र सोल्टीमा ट्याक्टर दुर्घटनामा एक जनासहित ९ जनाको ज्यान गएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोश घिमिरेले पछिल्ला दिनमा भएका अधिकांश दुर्घटना सवारी साधन लापरवाही ढङ्गले तीव्र गतिमा चलाइँदा भएको बताए ।
उनले लापरवाही र तीव्र गति रोक्न ट्राफिक प्रहरीले भ्याएसम्म काम गरिरहेको दावी गरेका छन् ।भित्री सडकसम्म बस्ने गरी जनशक्ति नरहेको बताउँदै ट्राफिक प्रहरीका इन्स्पेक्टर घिमिरेले सवारी चलाउँदा चालक आफैले पनि विचार गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय तहले समेत सडक दुर्घटना न्यूनिकरण र सडकलाई सुरक्षित बनाउने काममा पहल गर्नुपर्ने अवस्था आएको बताए ।
उनले सडकमा स्पीड ब्रेकर, डिभाइडर राख्न र सचेतनामूलक कार्यक्रम गर्न स्थानीय तहसँग समन्वय अघि बढाइएको बताए । उनका अनुसार सवारी दुर्घटना न्यूनिकरणको अभियान अन्तर्गत भोली सदरमुकाम मलंगवामा औपचारिक उद्घाटन गरेर सप्ताहव्यापी कार्यक्रम सुरु गर्ने तयारी गरिएको छ ।