सर्लाहीको लालबन्दीस्थित जनज्योति माध्यमिक विद्यालयबाट २०६७ सालमा एसएलसी दिएका विद्यार्थीले आफ्ना एक जना दिवंगत साथीको स्मृतिमा आइतबार गुरुकुललाई सहयोग गरेका छन् ।
स्वर्गिय सुलभ गिरीको स्मृतिमा उनका साथीहरुले लालबन्दी ७ स्थित डुमडुमेमा रहेको राधाकृष्ण गुरुकुलमा पुगेर खाद्यान्न तथा अध्ययन सामग्री सहयोग गरेका हुन् । जनज्योतिबाट २०६७ सालमा एसएलसी दिने स्वर्गिय सुलभका १९ जना साथी मिलेर आश्रममा बस्ने बटुकका लागि कापी तथा विभिन्न खाद्यान्न सहयोग गरेको गुरुकुल पुगेकामध्ये सुवास ढुंगानाले जानकारी दिए ।
उनका अनुसार राजेश दाहालको संयोजकत्वमा आइतबार बिहान गुरुकुलमा पुगेर त्यहाँ गुरु तथा बटुकलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।