शुन्य समय​

मौलिक सँस्कृति र पुराना खानाको संरक्षण गरौँ ः पर्यटनमन्त्री किराती

सँस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले विदेशी सँस्कार, सँस्कृति अङ्गाल्दा नेपाली मौलिक सँस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

सर्लाहीको हरिवनमा आज नेपाल आदिवासी जनजाति युवा महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै मन्त्री किरातीले हाम्रा सँस्कार, सँस्कृति विदेशीको जस्तै हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले अनेक सँस्कार र सँस्कृति भएको हाम्रो समाजले यसरी विदेशी सँस्कार रोज्दा इतिहास नै मेटिने खतरा रहेको उल्लेख गर्नुभयो ।

पर्यटनमन्त्री किरातले नेपाली पुराना खानाका परिकार लोप हुँदै गएकोप्रति पनि चिन्ता व्यक्त गर्दै आफूहरुले सानै हुँदा खाएको परिकारलाई अहिले अनेक विदेशी नाम दिइएको चर्चा गर्नुभयो । “हाम्रा बुवा, आमाले सानैमा आलु तारेर दिनुहुन्थ्यो, त्यतिबेला तारेको आलु भन्थ्यौँ, अहिले फ्रेन्च फ्राइज भन्छन्, हामीले चाम्रे त पहिलेदेखि नै खाएको हो, अहिले फ्राइ खाइस भन्न थालियो,” पर्यटन मन्त्री किरातीले भन्नुभयो, “हामीले यसरी विदेशी सँस्कृति र खानपानलाई नक्कल गर्ने होइन, हाम्रै सँस्कारमा जिँउनुपर्छ, अनिमात्रै हाम्रो पहिचान रहन्छ ।” केही दिनअघि आदिवासी जनजाति पत्रकार महासङ्घको विधान सम्मेलनमा सहभागी हुन हरिवन आउँदा नेपाली रहनसहन र परिकारको बारेमा लामो चर्चा गर्नुभएका मन्त्री किरातले यो पटक फेरि यहाँ आउँदा सोही कुरालाई प्राथमिकताका साथ प्रस्तुत गर्नुभएको हो ।

भोजपुरबाट प्रतिनिधि सभामा निर्वाचित मन्त्री किरातीले कोशी प्रदेशको नामाङ्करण पहिचानका आधारमा हुन नसकेको भन्दै गुनासो व्यक्त गर्नुभयो । मन्त्री किरातीले आजै हरिवनस्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा निर्वाचित माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पदाधिकारीलाई बधाई दिन आयोजित कार्यक्रम, बागमतीमा कार्यकर्ता भेलालगायतका कार्यक्रमलाई सम्वोधन गर्नुभएको छ । मन्त्री किरातीले उद्घाटन गर्नुभएको नेपाल आदिवासी जनजाति युवा महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलन भोलीसम्म चल्नेछ ।

प्रतिक्रिया